काठमाडौं । इरानले अमेरिका वा इजरायलबाट पुनः सैन्य आक्रमण भए त्यसको जवाफ खाडी क्षेत्रका रणनीतिक ऊर्जा पूर्वाधारलाई लक्षित गरेर दिने चेतावनी दिएको छ । यसले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने संकेत गरेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान, टर्की र साउदी अरेबियाका उच्च अधिकारीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्दै कुनै पनि नयाँ सैन्य हस्तक्षेपको इरानले कडा र अनुपातिक प्रतिकार गर्ने बताएका छन् । उनले थप आक्रमणले क्षेत्रीय तनावलाई अझ गम्भीर बनाउने संकेत गरेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्निकट संचारमाध्यमले पनि अमेरिकी आक्रमण इरानको ऊर्जा पूर्वाधारमा केन्द्रित भए साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा इजरायलका तेल–ग्यास संरचना सम्भावित जवाफी कारबाहीको दायरामा पर्न सक्ने जनाएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक समाधानको सम्भावना अझै बाँकी रहेको बताए पनि आवश्यक परे फेरि सैन्य कारबाही गर्न अमेरिका तयार रहेको संकेत दिएका छन् । उनले वार्तामार्फत सहमति खोज्ने प्रयास जारी रहेको उल्लेख गरे ।

बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । कच्चा तेलको मूल्य उच्च रहँदा विश्वव्यापी आपूर्ति श्रृंखला दबाब बढेको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमा सुरक्षा जोखिम बढेसँगै आगामी दिनमा ऊर्जा बजार थप अस्थिर हुन सक्ने विश्लेषण गरिएको छ ।

यसबीच कुवेतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ड्रोनहरू निष्क्रिय पारिएको जनाएको छ । भग्नावशेष खस्दा केही संरचनामा सामान्य क्षति पुगे पनि मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

यमनका इरान समर्थित हुथी विद्रोहीले बाब–अल–मन्देब जलडमरू हुँदै संचालन हुने जहाजहरूलाई लक्षित गर्न सक्ने चेतावनी दिएका छन् । उता ओमानको तट नजिक दुईवटा तेल ट्यांकरसँग सम्बन्धित सुरक्षा घटना सार्वजनिक भएपछि समुद्री सुरक्षाप्रति अन्तर्राष्ट्रिय चिन्ता थप बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय