कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसंगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।शुक्रबारको खेलमा पराजित भए पनि बुटवल समान दुई अंक रहेका बैतडी काठमाडौंलाई रनरेटमा पछडि पार्दै अन्तिम चारमा पुगेको छ । यसअघि नै अत्तरिया, फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगिसकेका थिए । अब सेमीफाइनलमा समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसंग खेल्ने छ । यस्तै समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासंग खेल्ने छ ।



शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । एक सय ८९ रनको लक्ष्यसहित मैदान उत्रिएको बुटवलले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १० रन मात्रै बनाउनसक्यो । उसका लागि प्रतिक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र बीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई–दुई विकेट लिए । कमल गुप्ता र दिपेश कडेलले एक–एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । अत्तरियाका भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ३९ बलमा ५८ तथा यादवले ३८ बलमा ५१ रन बनाए । यादव खेलका म्यान अफ द म्याच भए । यस्तै, शंकर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले दुई तथा बीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक–एक विकेट लिए ।
गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।



