काठमाडौं । नेपाली किकबक्सिङका उदाउँदा खेलाडी अविरल घिमिरेले ‘K1 World Max 2025’ मा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ। जापानको राजधानी टोकियोमा आगामी सेप्टेम्बर ७, २०२५ मा हुने उक्त प्रतिष्ठित प्रतियोगितामा घिमिरेले फ्रान्सका अनुभवी खेलाडी Aymeric Lazizi सँग प्रतिस्पर्धा गर्ने छन्।
विश्वका शीर्ष १६ राष्ट्रका प्रतिनिधि खेलाडीहरू सम्मिलित यो प्रतियोगिता K-1 World Max श्रृंखलाअन्तर्गत आयोजना हुने के-वान विश्व च्याम्पियनसीप हो, जुन किकबक्सिङ खेलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको मञ्च मानिन्छ। नेपालबाट पहिलो पटक एक युवा खेलाडीको रूपमा अविरल घिमिरेले यो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्, जसले नेपालको खेल क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपेको छ।



काठमाडौंको चन्द्रागिरि निवासी घिमिरे लामो समयदेखि जापानमा रहँदै आएका छन् र त्यहाँबाटै पेशागत रूपमा प्रशिक्षण तथा प्रतिस्पर्धा गर्दै आएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाइसकेका उनले यसअघि जापानको विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा उपाधि जित्दै चर्चा कमाएका थिए। अविरल हालै मात्रै थाइल्याण्डको फुकेट शहरस्थित प्रसिद्ध Tiger Muay Thai Club मा विशेष तयारी प्रशिक्षण सकेर जापान फर्किएका छन्। उक्त क्लब विश्वभरका उच्च स्तरीय फाइटरहरूका लागि प्रशिक्षण केन्द्रका रूपमा ख्यातिप्राप्त छ। प्रशिक्षकहरूको निरीक्षणमा गरिएको यो प्रशिक्षणले उनलाई थप मानसिक र शारीरिक रूपमा सशक्त बनाएको उनी बताउँछन्।
उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउनु गर्वको कुरा हो। मेरो लक्ष्य केवल जित मात्र होइन, नेपाललाई विश्व खेलकुद नक्शामा स्थापित गर्नु पनि हो। म सम्पूर्ण नेपालीको समर्थनको अपेक्षा गर्दछु।” K1 World Max 2025 मा भएको छनोटले अविरलको खेल यात्रा नयाँ मोडमा प्रवेश गरेको छ। जापानको दर्शकदीर्घामा नेपाली झन्डा फहराउने र रिङमा नेपालको प्रतिनिधित्व गर्ने उनको यो प्रयास सम्पूर्ण नेपाली खेलप्रेमीका लागि प्रेरणादायी बन्ने देखिन्छ।



