काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ स्थित सेलाघाट बस्तीमा बाढी पस्दा १३ परिवार विस्थापित भएका छन् । मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीपहिरो एक्कासि घरभित्र पसेपछि स्थानीय विस्थापित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीले मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठुलो क्षति पु¥याएको छ । बस्तीको माथिबाट पहिरो खस्न थालेपछि स्थानीयलाई घर छोडेर सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जोखिममा परेका १६ घरधुरीमध्ये तीन घरधुरी उच्च जोखिममा रहेका छन् । घरमा क्षति पुगे पनि भित्र राखिएका दैनिक उपभोग्य सामग्री, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।



बाढीपहिरोका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ । उनीहरूका लागि त्रिपाल, भाँडावर्तन र खाद्यान्न वितरणको पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।



