अहमदाबाद, भारत। एयर इन्डियाको अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, जुन १२, २०२५ मा भारतको गुजरात राज्यस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुर्घटनाको पुष्टि गरेको छ।
बोइङ ७८७-८ सिरिजको उक्त विमानमा चालकदलका सदस्यसहित कुल २४२ जना यात्रु सवार थिए। एयर इन्डियाले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार, दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ जना पोर्चुगलका नागरिक रहेका थिए।



एयर इन्डियाका प्रवक्ता किदवईले एसोसिएटेड प्रेस समाचार एजेन्सीसँगको कुराकानीमा विमान अहमदाबादको मेघानी नगर नामक एक आवासीय क्षेत्रमा खसेको जानकारी दिएका छन्। दुर्घटनामा परी घाइते भएका यात्रुहरूलाई तत्काल नजिकको अस्पतालमा पुर्याइएको छ।
हाल दुर्घटनाको कारणबारे विस्तृत जानकारी आइसकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरणहरू आउने क्रममा रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।



