काठमाडौं । आज ऋषि पञ्चमी पर्व । नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । तीजको दिन ब्रत बसेको महिलाहरुले आज बिहानै उठेर स्नान गरी व्रत समापनका लागि गौदान, पूर्णपात्रलगायत धार्मिक कार्य गरी नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा छ । यसैलाई ऋषिपञ्चमीको पूजा पनि भनिन्छ ।
आज काठमाडौंको टेकु, मकवानपुरको पालुङस्थित ऋषेश्वर महादेवलगायत देशभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ । रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।






