तिहार अर्थात् यमपञ्चकअन्तर्गत आज लक्ष्मीमाताको प्रतीकका रूपमा गाईको पूजा गरिँदैछ। वैदिक सनातन परम्परादेखि नै गाईलाई लक्ष्मीको प्रतीक तथा पवित्र जनावरका रूपमा पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार गाईको दूध आमाको दूधसरह पौष्टिक हुने भएकाले गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ।
गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा समेत गाईको विशेष महत्त्व रहेको छ। गाईलाई भोजन अर्पण गरी पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराई स्वर्ग पुर्याउन सहयोग गर्ने मान्यता छ।



नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने विधान रहेको छ।
यमपञ्चकअन्तर्गत गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्मपूजा अर्थात् म्हपूजा भोलि मनाइँदैछ। यमपञ्चकको मुख्य पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।



