काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज श्रद्धा र भक्ति भावका साथ नृसिंह जयन्ती मनाइरहेका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व भगवान् विष्णुको नृसिंह अवतारसँग सम्बन्धित छ, जसलाई धर्म र सत्यको रक्षा गर्ने प्रतीकका रूपमा लिइन्छ ।

धार्मिक मान्यताअनुसार, जब अधर्म र अत्याचार चरम सीमामा पुग्यो, तब भगवान् विष्णुले नृसिंह अवतार धारण गर्नुभएको थियो । यो अवतार दैत्यराज हिरण्यकश्यपुको अन्त्य र उनका पुत्र प्रह्लादको संरक्षणका लागि भएको विश्वास गरिन्छ । प्रह्लाद बाल्यकालदेखि नै विष्णुभक्त थिए, जबकी उनका पिता हिरण्यकश्यपु अहंकार र शक्ति प्रदर्शनमा डुबेका शासकका रूपमा वर्णित छन् ।

पुराणहरूमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले कठोर तपस्या गरी यस्तो वरदान प्राप्त गरेका थिए, जसले उनलाई सामान्य अवस्थामा मृत्यु नहुने बनाएको थियो । उनले आफूलाई नै सर्वशक्तिमान घोषणा गर्दै सबैलाई आफ्नो पूजा गर्न बाध्य पार्ने प्रयास गरेका थिए । तर उनका आफ्नै छोरा प्रह्लादले विष्णुप्रतिको अटुट आस्था छोडेनन् ।

यसै संघर्षको चरम अवस्थामा भगवान् विष्णु नृसिंह रूप धारण गरी प्रकट भएको कथन पाइन्छ । नृसिंह अवतार आधा मानव र आधा सिंह स्वरूपमा रहेको वर्णन गरिन्छ, जसले हिरण्यकश्यपुको वध साँझको समयमा, घरको चौखटमा, नङ्ग्राको प्रयोग गरी गरेका थिए । यसरी वरदानका सबै शर्तहरू उल्लङ्घन नगरी अधर्ममाथि विजय प्राप्त गरिएको विश्वास गरिन्छ ।

नृसिंह जयन्तीले धार्मिक आस्थासँगै नैतिक सन्देश पनि दिन्छ, अहंकारको अन्त्य निश्चित छ भने सत्य र भक्तिको विजय अपरिहार्य हुन्छ । यस अवसरमा देशभरका मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान गरिन्छन् । भक्तजनहरूले उपवास बसेर भगवान् नृसिंहको आराधना गर्ने परम्परा पनि रहेको छ ।

यस पर्वले मानव जीवनमा धर्म, सत्य र न्यायको महत्व स्मरण गराउँदै समाजलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय