काठमाडौं । आज राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ ।

यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् । पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ । बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन । आज देखिने उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको हो । नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्दा बिहीवार मध्यरातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ ।

 

यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय