काठमाडौं । आज २८औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ मनाइँदैछ । विक्रम सम्वत् १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि दिवस मनाउने गरिएको छ । आजको दिन भूकम्प र यसबाट हुने क्षतिको न्यूनीकरणका लागि चेतना फैलाउने गरिन्छ ।
यस अवसरमा देशभर गोष्ठी, छलफल, ¥याली, अन्तक्र्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो(भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदैछन् । संघ, प्रदेश र पालिका गरी तीनै तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।



खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । दिउँसो दुई बजेर २४ मिनेटमा सञ्चारमाध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रमको पनि आयोजना हुँदैछ । जसमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
९२ वर्षअघि दिउँसो दुई बजेर २४ मिनेटमा गएको ८ दशमलव ४ म्याग्निच्यूडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो । भूकम्पका कारण आठ हजार ५१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८ संरचना भत्किएको थियो ।



