काठमाडौं, जेठ २८ (बुधबार): लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले गरेको प्रमुख दलका सचेतकहरूसँगको छलफल आज पनि बिनानिष्कर्ष टुङ्गिएको छ। आधा घण्टा चलेको छलफलमा दुवै पक्ष आ-आफ्नो अडानमा कायमै रहेपछि समाधान निस्कन सकेन, जसले गर्दा आजको छलफल झन् निराशाजनक बनेको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले संसदको गतिरोध हटाउन पटकपटक प्रयास गर्दै आएका छन्। यसअघि पनि उनले विभिन्न दलका सचेतकहरूसँग छलफल गरे पनि गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको मागमा सहमति जुट्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना प्रकरणमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ, जबकि सत्तापक्ष गृहमन्त्रीको राजीनामा वा छानबिन समिति गठन दुवैमा तयार देखिँदैन।

सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि अब सत्तापक्ष र प्रतिपक्षबीच सीधा छलफल सुरु भएको छ। यस छलफलले सदनको अवरोध हटाउन र आगामी बजेट अधिवेशनलाई सुचारु गर्न कुनै समाधान निकाल्छ कि भन्ने अपेक्षा गरिएको छ। संसदमा बजेटमाथिको छलफल प्रभावित भइरहेकोले यस गतिरोधको अन्त्य आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय