काठमाडौं । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चैबाजा बजाउने चलन हराउँदै गएको छ । पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा संकटमा परेको स्थानीयको बुझाइ छ ।



शहरमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चैबाजाको प्रयोग घट्दै गएको छ । पञ्चैबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्रको प्रयोग हुने गर्छ । हाल गाउँघरमा यस्ता वाद्य तथा बजाउने सीप भएका व्यक्तिहरू पाउनै कठिन छ । गाउँमा पहिले पहिले हरेक कार्यक्रममा पञ्चैबाजाको धुन गुन्जिन्थ्यो, तर अहिले आधुनिक डिजे बाजाले ठाउँ ओगटेपछि परम्परागत बाजा बजाउने चलन हराउँदै गएको छ ।
नेपालकै मौलिकता झल्काउने पञ्चैबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा संरक्षणको जोखिम थपेको छ । पञ्चैबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा यो बाजा लोप हुने अवस्थामा पुगिसकेको छ । पछिल्लो समयमा केही स्थानीय निकायले पञ्चैबाजा संरक्षण गर्ने भन्दै केही युवायुवतीलाई बाजा बजाउन सिकाएको पाइन्छ । विगतमा विशेष जातिमा मात्र बाजा बजाउने सीप सीमित गरियो, यो सीपलाई अन्य समुदायमा पनि हस्तान्तरण गर्नसके बाजाको प्रयोग बढ्ने, लोप हुने अवस्था हट्नुको साथै रोजगारको अवसरलाई पनि सुनिश्चित गर्न सकिने थियो । बाजा संरक्षणमा प्रदेश र स्थानीय सरकार दुवैले ध्यान दिन जरुरी छ ।



