महोत्तरी– देशभित्र उत्पादित विद्युत्को आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशमा अघि बढेका विभिन्न प्रसारण लाइनको काम निकै सुस्त छ । देशभरको कुल खपतको २१ प्रतिशत बिजुली मात्र प्रयोग हुने मधेशमा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी विभिन्न प्रसारण लाइनको काम अघि बढेका छन । मधेशमा सुरु गरिएका आयोजनाहरुको लागत ५० अर्बभन्दा बढी छ । तर आयोजनाहरुको कामले गति लिन सकेको छैन ।
ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा दिने उद्देश्यका साथ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाले थालेको महोत्तरीको लोहरपट्टी बर्दिबास र मनरासिसवा, धनुषाको नगराइन, लोहना महेन्द्रनगर र वीरेन्द्र बजार सप्तरीको बिसनपुर, सिरहाको सनैठा, रौतहटको मानपुर सर्लाहीको हरिपूवा र पर्साको बहुअरी पिडारीमा ३३ केभी सबस्टेसनलगायत ५१० थान ट्रान्सर्फमर जडानका काम कछुवाको गतिमा छ ।मधेशमा पाँच वर्षभित्र ग्राहकको संख्या शतप्रतिशत बढेपछि गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरेक जिल्लामा एक–एकवटा १३२ केभी प्रसारण लाइन बनाउने तयारी छ ।योजनाका सबै काम पूरा भए ग्राहकले गुणस्तरीय बिजुली सेवा पाउँछन नै प्राधिकरणलाई समेत फाइदा हुनेछ ।






