काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ईटाभट्टा पीडित संघर्ष समितिले पुनः आन्दोलनको तयारी गरेको छ । चन्द्रागिरि नगरपालिकाले विगतमा भएका सम्झौताको कार्यान्वयन नगरेको भन्दै नगरपालिका र ईटाभट्टाविरुद्ध आन्दोलनको तयारी गरेको हो । संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै अबको केही दिनमा आन्दोलनको कार्यकालिका सार्वजनिक गर्ने बताएको छ । कार्यक्रममा समितिका संयोजक मुकुन्द प्रसाद घिमिरेले ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि भन्ने नारालाई चन्द्रागिरि नगरमा संचालनमा रहेको ईटाभट्टाले गिज्याइ रहेको बताउनु भयो । उहाँले केही दशक अघि हालको चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र २५ वटा ईटाभट्टा संचालनमा रहेको र विभिन्न समयमा भएका आन्दोलनले अहिले नगरमा मच्छिन्द्र ईटाभट्ट उद्योगबाट उत्पादित हिरा ईटा मात्र संचालनमा रहेको बताउनु भयो ।




संघर्ष समितिका अध्यक्ष घिमिरेले नगरभित्रका सबै ईटाभट्टा हटेपनि हिरा ईटामात्र नहट्नु शंकाको विषय भएको उल्लेख गर्नुभयो । उहाँले ईटाभट्टबाट निस्किएको धुँवा र धुलोले वातावरणमा प्रदुषण भएको र महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै भट्टा हटाउनको लागि सम्बन्धित निकायलाई चर्को दबाब दिने पनि बताउनु भयो ।
यसअघि ईटाभट्टा पीडित संघर्ष समितिले २०७६ सालमा आन्दोलन गर्नुअघि नगरबाट प्रदुषणयुक्त ईटाभट्टा हटाउन भन्दै नगरप्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाएको जानकारी गराउनु भएको थियो । उहाँले त्यतिबेला प्रमुख गिरीले ज्ञापनपत्रको वेवास्ता गरेको र ईटाभट्टा हटाउन भन्दा पनि संरक्षण गर्न तर्फ लागेको भन्दै समितिले चरणबद्ध आन्दोलनको घोषणा गर्दै नगरपालिका घेराउ गरी ताला समेत लगाउन खोजेको बताउनु भयो । चर्को र दबाबपूर्ण आन्दोलनपश्चात नगरपालिका र ईटाभट्टा संचालकबीच धुवाँरहित ईटाभट्टा संचालन गर्न दिने र बाँकी नगरबाट हटाउने भन्दै सम्झौता भएपछि आन्दोलनका कार्यक्रम रोकिएको जानकारी दिनुभयो ।

नगरपालिका र ईटाभट्टा संचालकबीच सम्झौता भएपश्चात नगरपालिको विपद् व्यवस्थापन तथा वातावरण शाखाका कर्मचारी र जनप्रतिनिधिहरु धुँवारहित ईटाभट्टा अवलोकनको लागि विभिन्न स्थान पुगेका थिए । तत्कालिन वडा अध्यक्ष तथा वातावरण समितिका संयोजक गोपी सुर्खेतीले नगरलाई वातावरण मैत्री ईटाभट्टा संचालनको लागि ठूलो रकमको आवश्यकता पर्ने र नगरमा ईटाभट्टा स्तरोन्नती गरी संचालन गर्न दिइने भनि प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसपछि नगरको मापदण्डअनुसार संचालन गर्न नसकिने भन्दै नगरभित्र संचालनमा रहेका ईटाभट्टाहरु धमाधम बन्द हुन थाले । नगरमा मच्छिन्द्र ईटाभट्टा उद्योगले मात्र मापदण्ड अनुसार ईटाभट्टा संचालन गर्छु भनि नगरलाई पत्र बुझायो । सोही अनुरुप आजका दिनसम्म पनि मच्छिन्द्र ईटाभट्टा संचालनमा रहदै आएको छ ।

रात रहयो अग्राख पलायो भनेझै दिन वित्दै गयो, मच्छिन्द्रले दिएको निवेदन, नगरले बनाएको प्रतिवेदन र नियम धोति फुस्केझै फुस्कियो । नगरले त्यतिखेर आफुले गरेको निर्णय आफैले कार्यान्वयनमा ल्याउन सकेन । लामो समय वितिसक्दा पनि नगरले आफूले गरेको निर्णय र सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः संघर्ष समितिले आन्दोलनको तयारी गरेको छ । उहाँ भन्नुहुन्छ, आफु पनि फोक्सोको विरामी, नगरमा यस्ता विरामीको संख्या धेरै रहेको बताउनु हुन्छ । इँटा उद्योगको धँुवा प्रदुषणले फोक्सोका विरामीलाई श्वासप्रश्वासमा समस्या हुने र आफुहरु जस्ता विरामीले बाँच्न पाउने अधिकार उद्योगहरुले हनन् गरिरहेको बताउनु हुन्छ । हराभरा र स्वच्छ चन्द्रागिरि अभियानका लागि इँटाभट्टाहरू बाधक भएको पनि उहाँको दाबी छ । मानव जीवनमा प्रतिकूल असर पार्ने उद्योगहरू बस्तीबाट हटाउन ढिला गर्न नहुने भन्दै सबै उद्योगहरू नहट्दासम्म आन्दोलनका कार्यक्रम अब नरोकिने चेतावनी समेत दिनुभयो ।

२०६९ सालमा थानकोट क्षेत्रबाट इँटाभट्टा हटाउने सुरु भएको अभियान २०८० साल सकिन लाग्दा पनि आन्दोलनको क्रम रोकिएको छैन ।



