काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।



संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको मन्त्री गुरुङले बताउनुभयो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्री र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहमतिनजिक पुगेको दाबी गर्नुभयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घका प्रतिनिधिबीच निरन्तर छलफल भएकाले छिट्टै सहमति हुन सक्ने जानकारी दिनुभयो । मन्त्री गुरुङले आज र भोलिमा सहमति हुने विश्वास समेत व्यक्त गर्नुभयो ।



