पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा (एमाले) को सदस्यता यस वर्ष असार १४ गते नै नवीकरण गरिसकेको खुलासा गरेकी छन्। आइतबार बारा जिल्लाको सदरमुकाम कलैयामा मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो कुरा स्पष्ट पारिन्। कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पार्टीभित्र आफूलाई लिएर विभिन्न भ्रम फैलाइएको भए पनि आफ्नो राजनीतिक आस्था अझै एमालेमै मजबुत रहेको बताइन्। उनले भनिन्, “म पार्टीलाई छोडेको छैन, सदस्यता नवीकरण असारमै गरिसकेको छु। केही ठाउँमा गलत बुझाइ वा गलत प्रचार भएको हो।”
त्यस्तै, उनले पार्टीले हालसालै जारी गरेको परिपत्रमा पूर्व राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रममा एमाले नेताहरूलाई अनिवार्य रूपमा सहभागी नहुन निर्देशन गरिएको भन्ने विषयमा पनि विश्वास नरहेको प्रष्ट पारिन्। उनले भनिन्, “पार्टीको आधिकारिक निर्णय वा परिपत्र होइन, त्यस्तो हल्लामा म विश्वास गर्दिनँ।” शनिबार मात्र भण्डारी वीरगञ्ज र कलैयामा हुने कार्यक्रमका लागि मधेश प्रदेश गएकी थिइन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘महिला सम्मेलन–२०८२’ मा सहभागी हुन आउने क्रममा सिमरा विमानस्थलमा उनलाई एमालेका कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। कार्यकर्ताहरूले ५१ किलोको माला लगाएर स्वागत गरेपछि भण्डारी निकै भावुक बनेकी थिइन्। भण्डारीले कार्यकर्ताहरूसँगको भेटमा एमाले संस्थापक नेता स्वर्गीय मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्न सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।






