काठमाडौं । मिथिलाञ्चलको महत्वपूर्ण एवम् ठूलो पर्व छठ सुरु भएको छ । पहिले पहिले मिथिलाञ्चलमा मात्र मनाइने छठ अहिले देशका विभिन्न स्थानमा मनाउन थालिएको छ । आजबाट छठका लागि जनकपुर, वीरगञ्जलगायतका स्थानमा रहेको विभिन्न ताल तलाउ सजाउन थालिएको छ ।

यसैक्रममा चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा पनि छठको तयारी भइरहेको छ । विशेष गरी चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित मातातीर्थमा गतवर्षहरुमा जस्तै यो वर्ष पनि छठ धुमधामका साथ मनाउने तयारी भइरहेको मातातीर्थ संरक्षण तथा विकास समितिका अध्यक्ष शान्त उदासले जानकारी दिनुभएको छ । आमाको मुख हेर्ने पवित्र स्थान अझ भनौं आमाको काखमा मनाउन लागिएको छठमा सहभागी हुन पनि उहाँले आम सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
अहिले मातातीर्थमा सरसफाई, रंगरोगन तथा सजावटका कामहरु भइरहेको पनि जानकारी दिनुभयो । यसवर्ष गतवर्षको भन्दा बढीको सहभागिता रहने पनि उहाँको भनाइ छ ।

चार दिनसम्म मनाइने छठ पर्व भोलिबाट औपचारिक रूपमा सुरू हुँदैछ । चार दिनको पर्वमा वर्तालुले दुईदिन बिना अन्नपानीको भोकै बस्ने गर्दछन् । छठको पहिलो दिन आज ‘नहाय–खाए’, दोस्रो दिन दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने प्रचलन छ ।

त्यस्तै, छठको मुख्य दिन ठेकुवा, भुसवालगायत पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यलाई अघ्र्य दिइन्छ । यस्तै, छठ पर्वको अन्तिम दिन बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ । छठ पर्वको भोलिपल्ट मधेस प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय