काठमाडौं । इजरायलबाट २ सय ५४ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।




त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहने ५ सय ३ जना मध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई छिट्टै ल्याइने जानकारी दिनुभयो । मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी गराउनु भयो ।
उहाँले घाइते चार जना मध्ये एक जना स्वदेश फर्किएको, एक जना अस्पतालबाट डिस्चार्ज भएको र बाँकी दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन विपिन जोशीको खोजी भइरहेको जानकारी दिनुभयो । मन्त्री साउदले इजरायलमा शवको संख्या अत्यन्तै बढी भएकाले कानूनी प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने हुँदा आक्रमणमा मृत्यु भएका १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको बताउनु भयो ।

नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट उहाँहरुलाई नेपाल ल्याइएको हो । विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीको टोली इजरायल पुगेको थियो ।





