परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीमध्ये केही व्यक्ति हताहत भएको आशंका गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री उनले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको बताएका हुन । मन्त्री साउदले इजरायलमा रहेका नेपालीको अवस्था यकिन गर्न र उद्दार गर्नका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको बताए ।
परराष्ट्रमन्त्री साउदले इजरायलमा भएको आक्रमणबारे नेपालले गम्भीरताका साथ लिएको बताए । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको पनि उनले जानकारी दिए ।



संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्य गर्ने बताइएको छ । मन्त्री साउदले हमास समूहबाट गम्भीर आक्रमण भएकाले स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको बताए । उनका अनुसार ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको बताए ।
तिमध्ये केही हताहत भएको हुनसक्ने उनको भनाइ छ । मन्त्री साउदका अनुसार इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायमा हाल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए,’ उनले भने, ’सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत छन ।



