काठमाडौं । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गरेको छ । ट्रम्पले आफ्नो २० बुँदे शान्ति योजना अन्तर्गत इजिप्टमा भएको वार्तापछि आफू विश्वस्त रहेको र सबै बन्धक सोमबारसम्म फिर्ता हुने बताएका छन् । विश्व नेताहरूले बिहीबार शान्तिको नयाँ आशा व्यक्त गर्दै दुवै पक्षलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । यो सम्झौतालाई गाजामा दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फको ठुलो कूटनीतिक उपलब्धि मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार हमासले आगामी दिनमा सबै २० जना जीवित इजरायली बन्धकलाई मुक्त गर्ने छ, जसको सट्टामा प्यालेस्टिनी कैदी रिहा गरिने छन् । साथै इजरायली सेना गाजाको अधिकांश भागबाट फिर्ता हुन सुरु गर्ने छ । हमास स्रोतका अनुसार इजरायलमा आजीवन कारावास सजाय पाएका २५० जना र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरी एक हजार २ सय १९ नागरिकको हत्या गरेपछि इजरायल प्रत्याक्रमणमा उत्रिएसँगै युद्धले चरम विनाशकारी रूप लिएको हो ।

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएर लगेका थिए । जोशीलाई हमासले बन्धक बनाएर लगेकोमा उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय