काठमाडौं, भदौ २० — राजधानीको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा बसन्तपुर दरबार क्षेत्रमा आयोजित विशेष समारोहमा विभिन्न उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रह्यो।
यस वर्षको समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रपति रामचन्द्र पौडेलको स्वागतका लागि स्वयं उपस्थित भए। उनी राष्ट्रपतिसँगै मञ्चतर्फ अघि बढेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली बसन्तपुर पुगेका बेला भने मेयर शाह उपस्थित थिएनन्। प्रधानमन्त्रीको स्वागत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले गरेका थिए।

गत वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर शाह यसपालि भने बसन्तपुरमा देखिएका हुन्। इन्द्रजात्रा भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने नेवार समुदायको विशेष पर्व हो, जुन काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रहरूमा धूमधामका साथ मनाइन्छ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाबीचको पछिल्लो समयको सम्बन्ध र विभिन्न प्रसंगहरूलाई लिएर सार्वजनिक वृत्तमा चासो उत्पन्न भएको देखिन्छ। मेयर शाह र प्रधानमन्त्री ओलीबीचको केही समयदेखि देखिएको मतभेदलाई लिएर मेयरको स्वागत कार्यक्रममा अनुपस्थिति भएको हुन सक्ने अड्कलहरू समेत गरिएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई विशेष महत्व दिँदै बसन्तपुर क्षेत्रलाई आकर्षक बनाउने तथा जनसहभागिता सुनिश्चित गर्ने तयारीहरू गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय