चार वर्षअघि अमेरिकाको ड्रोन आक्रमणमा मारिएका इरानी सेनाका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित कार्यक्रमस्थलमा विस्फोट हुँदा कम्तीमा एक सय तीनजनाको ज्यान गएको छ।
एक सय ४१ भन्दा बढी घाइते भएका छन्। भिडलाई लक्षित गरेर दुईवटा विस्फोट भएको इरानी सरकारी मिडियाले बताएको छ। सरकारी टेलिभिजनले उक्त विस्फोटलाई इरानी सरकारले ‘आतंकवादी हमला’ भनेको जनाएको छ।



इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो। लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजरायलले गरेको दोष दिएका छन्।
राजधानी तेहरानभन्दा एक हजार किलोमिटर टाढा रहेको सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिदनजिकै विस्फोट भएको हो। उक्त मस्जिदमा उनलाई गाडिएको छ।
केरमानका उपगभर्नरले विस्फोटलाई ‘आतंकवादी हमला’ भनेका छन्। सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा एक सय ७० जनाभन्दा बढी घाइते भएको बताएको छ।
इरानको तस्निम समाचार एजेन्सीले जानकार स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, ‘बमले भरिएका दुई ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ।’
आइएसएनए समाचार एजेन्सीले केरमानका मेयर सइद तबरिजीलाई उद्धृत गर्दै १० मिनेटको अन्तरालमा बम विस्फोट भएको बताएको छ। अनलाइन फुटेजमा सुरक्षाकर्मीहरूले विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गर्दा भिडहरू भाग्न खोजेको देखिन्छ। सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ।
सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोप्रसको विदेशी अप्रेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए। उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्याे। जीवित रहँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीद्वारा ‘जीवित सहिद’ घोषणा गरिएका सुलेमानीलाई इराक र सिरिया दुवैमा इस्लामिक स्टेट जिहादी समूहलाई हराउन भूमिका खेलेको भन्दै नायकका रूपमा लिइन्छ।
धेरै इरानीको नजरमा उनको सैन्य र रणनीतिक क्षमता अफगानिस्तानका साथै सिरिया र इराकजस्ता छिमेकी मुलुकका बहुजातीय विघटनलाई रोक्न सहायक थियो। लामो समयदेखि अमेरिका र उसका सहयोगीहरूले घातक शत्रुका रूपमा हेरिएका सुलेमानी सिरिया, इराक र यमनमा इरानको राजनीतिक र सैन्य एजेन्डा सेट गर्दै यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण शक्ति दलालहरूमध्येका एक थिए।
सन् २०२० मा उनको मृत्युको केही दिनपछि केरमानमा अन्त्येष्टिसम्म लाखौँ मानिस राष्ट्रिय एकता प्रदर्शन गर्दै शोक मनाउन निक्लिएका थिए।



