मेची राजमार्ग अन्तर्गत माइखोला–भञ्ज्याङ सडक खण्ड पहिरोका कारण लामो समयदेखि अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाइ–तिल्केनी सडक खण्डमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम नगरपालिका–८ बज्रदेवीस्थित उकालो सडकमा झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ४१३२ नम्बरको बोलेरो आज दिउँसो अनियन्त्रित भई करिब ६० फिट तल खसेको हो ।
दुर्घटना पश्चात तत्काल पुगेको प्रहरी टोलि र स्थानीयले घाईतेको उद्धार गरेको छ । घाईतेहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । दुर्घटनामा झापाको कन्काई नगरपालिका–९ का ४० वर्षीय नाजु आलम, सोही स्थानका ४७ वर्षीय गोपालप्रसाद दुलाल, सुनसरीको धरान उपमहानगरपालिका–१० की ३६ वर्षीया रिता चेम्जोङ, झापाको दमक नगरपालिका–७ की २२ वर्षीया रोहिन लावती, धरान–१० का ७३ वर्षीय महेश कुमार राई, उनका ३४ वर्षीय छोरा मनकुमार राई र बोलेरो चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का ३३ वर्षीय रमेश चेम्जोङ रहेका छन् ।



घाईतेहरुको शरिरका बिभिन्न अंगमा चोट लागेको छ । मेची राजमार्गको माइखोला–भञ्ज्याङ सडक खण्ड पहिरोले क्षती पुगेर लामो समयदेखि अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने अधिकांश सवारीसाधन अहिले सिमलगोलाइ–तिल्केनी सडक हुँदै सञ्चालन भइरहेका छन् । तर यो सडक कच्ची, साँघुरो र जोखिमयुक्त भएकाले यात्रा निकै कठिन बनेको छ । यस सडक खण्डअन्तर्गत पर्ने जोगमाई खोलामा अझै स्थायी पुल निर्माण नभएकाले डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ ।
वर्षा बढेसँगै डाइभर्सन बग्ने गरेकोले यात्रु र चालकले थप सतर्कता अपनाउनुपर्ने अवस्था छ । मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गमा सवारीको चाप अत्यधिक बढेको छ । तर सडकको अवस्था भने त्यसअनुसार सुरक्षित बनाउन सकिएको छैन । यस दुर्घटनाले वैकल्पिक मार्गको जोखिम पुनः उजागर गरेको छ । स्थानीयले यस सडकको स्तरोन्नति, जोगमाई खोलामा स्थायी पुल निर्माण तथा मुख्य राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।



