स्टेफेन इस्किनाजीको उत्कृष्ट अर्धशतकको मद्दतले काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १३९ रनको लक्ष्य पछ्याएको काठमाडौँले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनायो।



काठमाडौँका ओपनर इस्किनाजीले ३४ बलमा १० चौकासहित ६० रन बनाउँदै जितको आधार तय गरे। उनलाई माइकल लेभिटले १८ बलमा ३२ रनको आक्रामक योगदान दिए। भिम शार्कीले २० बलमा २२ रन बनाए।
बलिङतर्फ पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। माइकल लिस्कले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो। पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै ४१ रन बनाए। ओपनर दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्कासहित ३८ रन जोडे। दिलिप नाथले २४ बलमा २ छक्कासहित २७ रन बनाए।
काठमाडौँका बलरहरूमध्ये कप्तान करण केसी र रासिद खानले समान ३(३ विकेट लिए। जेर्राड एरसामस र माइकल लेभिटले समान १ विकेट लिएर किफायती बलिङ गरे।
यो जितसँगै ६ खेलमा ६ अंक जोडेको काठमाडौँ चौथो स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ।



