सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ६५ दिनुपर्ने निर्णय गरेको हो । त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६ सय ३५ रुपैयाँ मूल्य सरकारले तोकेको हो । चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० कायम गर्नुपर्ने माग किसानको थियो ।
किसानको माग भन्दा कम मुल्य सरकारले निर्धारण गरेको हो । उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादन समेतको आधार लिनुपर्ने किसानले माग गर्दै आएका छन । आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक सिंहदरबारको मुख्य भवनको नयाँ कक्षमा बसेको थियो ।



सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बसेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ । भूकम्पले क्षति पु¥याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुननिर्माण गरेको हो ।



