सरकारले उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले महशुल विवाद समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्दै प्राधिकरणलाई उद्योगको विद्युत आपूर्ति नरोक्न प्राधिकरणलाई निर्देशन दिएको हो । बैठकले डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहेको तीन सदस्य समिति पनि गठन गरेको छ ।
त्यस्तै सरकारले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह विभिन्न निकायका पदाधिकारी व्यक्तिबाट २५ जना सदस्यहरुको मनोनयन गरेको छ । मन्त्रीपरिषद्बाट विभिन्न मितिमा शहीद घोषणा भएका र विवरण फरक परेका शहीदहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका शहीदहरुको नाम प्रकाशन गर्ने तथा थप शहीद घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।



बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणका सदस्य श्री नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेबारी दिएको छ । त्यस्तै रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।



