काठमाडौं । मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको जनाएको हो ।
आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर निर्णय गर्ने छ भने उम्मेदवारको नामावली मंगलबार प्रकाशित गर्ने छ । त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।



गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ । उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख, उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् । नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।
माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।



