मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै छ ।
पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको छ । भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउन थालेका छन् । पछिल्लो समय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई जोड दिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार ढाक्मर पहाड राताम्मे हुनको पछाडी गुरु पद्यसम्भवको कथासँग जोडिएको छ ।



आठौँ शताब्दी ताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुडी चिरेर आन्द्राभुडी घमी खोलामा फ्याकेको र त्यस क्रममा राक्षसको रगत निकालेर ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले उक्त पहाड राताम्मे भएको किंवदन्ती छ ।
घमी खोला नजिक राक्षसको आन्द्राभुडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुडी आकृतिको करिब २ सय मिटर लामो पर्खाल निर्माण गरिएको छ । राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालयले जनाएको छ ।
ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाइ करिब दुई किलोमिटरभन्दा बढी छ । उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा यहाँँ अवस्थित राताम्मे पहाड देख्न सक्छन् । यहाँको पर्यटन प्रवर्द्धन तथा आवश्यक प्रचारप्रसार नहुँदा कलात्मक पहाड र ऐतिहासिक महत्त्वबारे पर्यटक बेखबरजस्तै हुने गरेका छन् ।
ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा एक सयभन्दा बढी गुफा रहेको छ । यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँ नजिक जियो पार्क आसपास रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण भइरहेको छ ।
ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको छ ।
ढाक्मर गाउँ नजिकको पहाडमा करिब २ हजार वर्ष पहिले खोपेर गुफैगुफा निर्माण गरी मानिसहरु आश्रय लिने गरेको जानकारहरू बताउँछन् ।
गाउँ नजिक रहेका गुफालाई स्थानीय र पालिकाको सहकार्यमा जियो पार्कका रूपमा विकास गर्न सुरु गरिएको छ । राताम्मे जियोपार्क गुफाबाट नीलगिरि हिमाल र आसपासका हिमशृङ्खला मनमोहक र सुन्दर देखिन्छन् । यसलाई ध्यानसाधना केन्द्र मात्रै होइन, दृष्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेको छ ।
जियोपार्क गुफा प्रवर्धन गर्न लोघेकर दामोदरकुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ । कार्यालयले मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको छ ।
कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय विस्तारै पर्यटनसँग जोडिने थालेका छन् ।
जोमसोम–कोरला सडकबाट पश्चिमतर्फको दुई किमी दूरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ । मुस्ताङको घमी हुँदै पनि ढाक्मर गाउँ पुग्न सकिन्छ । कच्ची सडक हुँदै विश्वको पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात् घर गुम्बा पुग्न सकिन्छ ।



