काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे हुने पहिलो खेल हुनेछ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्ने छन् भने दोस्रो खेल दिउँसो साढे तीन बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अंक जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब छैन । आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।



विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्नेछन् ।
दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार-चार अङ्क मात्रै रहेको छ ।



