नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज (मंगलबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हुँदैछ। खेल अपराह्न ४ बजे सुरु हुने कार्यक्रम छ। लिग चरणमा उत्कृष्ठ प्रदर्शन गरेका यी दुई टोलीमध्ये आजको खेलको विजेता टोली सीधा मंसिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटरका विजेतासँग खेलिनेछ।
सुदूरपश्चिम रोयल्स: लगातार उत्कृष्ट प्रदर्शन



यस सिजन अत्यन्त प्रभावकारी फर्ममा रहेको सुदूरपश्चिम रोयल्सले ७ खेलमध्ये ६ मा जीत हासिल गर्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ स्थान सुरक्षित गरेको हो। टोली लगातार ६ खेलमा अपराजित रह्यो भने लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग ६ विकेटले पराजित भयो। गत सिजन पनि तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको सुदूरपश्चिम यसपटक पनि खिताबको बलियो दाबेदारको रूपमा हेरिएको छ।
विराटनगर किङ्स: उल्लेखनीय पुनरागमन
गत सिजन छैटौँ स्थानमा सीमित भएको विराटनगर किङ्सले यसपटक प्रभावशाली पुनरागमन गरेको छ। ७ खेलमध्ये ५ जितसहित १० अंक जोड्दै टोली दोस्रो स्थानमा रह्यो। निरन्तर प्रदर्शन सुधार गर्दै आएको विराटनगर आजको महत्त्वपूर्ण खेलमा सुदूरपश्चिमलाई कडा चुनौती दिन तैयार रहेको छ।



