नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले शानदार प्रवेश गरेको छ। मङ्गलवार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि संघर्षमा स्थान सुरक्षित गर्‍यो। १५५ रनको लक्ष्य लिएर व्याटिङमा उत्रिएको विराटनगर १४ ओभर एक बलमै ७८ रनमा अलआउट भयो। ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अन्य ब्याटरहरूले साथ नदिँदा विराटनगर शिथिल रह्यो। साम हिजलेट , मार्टिन गुप्टिल २, नरेन भट्ट , बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए।

सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले दुई–दुई विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। ओपनर विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा ३ चौका र २ छक्का सहित ६३ रन जोडे। शेल्डन ज्याकसन र आरिफ शेखले समान २०–२० रन बनाए। इशान पाण्डेले १३, दीपेन्द्रसिंह ऐरीले ३, हर्मित सिंहले १४ रन योगदान दिए। स्कट कुगेइलेन १ तथा मिलन बोहरा ५ रनमा अविजित रहे।

विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट झारे। पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग फाइनल हारेको सुदूरपश्चिम दोस्रो सिजनमा पुनः उपाधि होडमा पुगेको हो। अब सुदूरपश्चिमले शनिवार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। त्यस्तै विराटनगरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग खेल्दै फाइनलमा पुग्ने अन्तिम प्रयास गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय