काठमाडौं । एनसेल छैटौं टाइगर कप भलिबल प्रतियोगिताको भव्य समारोहका बीच उद्घाटन भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख भट्टले खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथी उठाउने महत्वपूर्ण माध्यम रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले उत्कृष्टता हासिलगर्न सफल भएको जनाउँदै खेलाडीहरुलाई आर्थिक उर्पाजनमा समेत् भलिबल खेल महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

सोही कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकीय शहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महशुस भएको उल्लेख गरे । उनले नेपाली यूवाहरुले मुलुकको परिवर्तनका लागि खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै नेपाल र नेपालीहरु संस्कृती र प्रकृतीको मात्रै धनी नभई मनको पनि उत्तिकै धनीभएको जनाए ।

यसैगरी नेपाल भलिबल संघका महासचिब रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नुका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको उनको भनाई थियो ।

टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष शर्माले मुलुकको विषम परिस्थितीमा समेत आफूहरुले यो प्रतियोगितालाई निरन्तरता दिंदै भलिबल खेलमार्फत पोखरालाई विश्व सामु चिनाउन पहल गरेको बताए ।

प्रतियोगिताको पहिलो दिनको पुरुषतर्फको खेलमा विभागिय टोली एपिएफ क्लब र नेपालआर्मीले आफ्नो बिजयी सुरूवात गरेका छन् । उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ । सो खेलमा एपिएफका उपेन्द्र परियार प्लेयर अफ दिम्याच बने । यस्तै पुरुषतर्फ नै भएको अर्को एक खेलमा विभागिय टोली नेपाल आर्मी क्लबले विजयी सुरूआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दिम्याच बने । त्यस्तै गरी महिलातर्फ भएको खेलमा टिप टप न्यू डायमण्ड यूथ स्पोट्र्स क्लबले जित हातपारेको छ । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ ले सहज जित हात पार्न सफल भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’घोषित भइन् ।

टाइगर ग्रुपद्वारा तीन जना सम्मानित

एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने तीन जनालाई टाइगर ग्रुपअफ पोखरा, नेपालले सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् । सम्मानित राजकुमार अधिकारीले पोखरामा २०५८ सालमा पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न संयोजकको भूमिका निर्वाह गर्दै भलिबल खेलको विकासमा उल्लेखनीय योगदान दिएका थिए । त्यस्तै, महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका न्यू डायमण्ड यूथ स्पोट्र्स क्लबका प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरिएको हो । यसैगरी, एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेता तथा गण्डकी प्रदेश टिमका खेलाडी हिमाल सुनारी मगरलाई पनि उक्त अवसरमा सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश प्रमुख भट्ट, संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रतियोगिताका संयोजक राजकुमार गुरूङ लगायतले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।

एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुषभ लिबल प्रतियोगिता २०८२’को दोस्रो दिन शनिबार महिलातर्फ २ र पुरुषतर्फ दुई गरी चार खेल हुने आयोजक टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स, थाइल्याण्ड तथा पुरुष तर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवनआर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी छन् । पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद ६ लाख ६६ हजार ६६६, दोस्रोले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय