इलाममा सम्पन्न दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि बिभागिय टिम एपिएफ फूटल क्लबले उचालेको छ । शनिवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को बिभागिय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराएर उपाधिमाथि कब्जा जमाएको हो । उपाधि चुमेको एपिएफका लागि गिता राना र सबिता राना मगरले गोल गरिन् । आर्मीका लागि भने बिमला चौधरीले एक गोल फर्काइन् । पहिलो हाफको २३ औं मिनेटमा एपिएफकि गिता रानाले पेनल्टि मार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् ।



पहिलो हाफमा १–शुन्यको अग्रता लिएको एपिएफले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफको २० औं मिनेटमा अनिता बस्नेतको क्रस पासलाई सदुपयोग गर्दै सबिता रानाले पेनल्टि क्षेत्रबाट गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् । तर आर्मीकी लागि बिमला चौधरीले ७० औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितीमा पुरयाइन् । त्यसपछि आर्मीले खेलमा फर्कन पटक पटक कोशिस गरेपनि सफल नबन्दा उपाधि चुम्नबाट बञ्चित बन्दै एपिएफलाई उपाधि सुम्पन्न बाध्य बन्यो । बिजेता बनेको एपिएफले ४ लाख र उपबिजेता आर्मीले २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरयो । बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । ओएसिस फूटबल क्लबले गत फागुन १७ गतेबाट गोल्डकपको आयोजना गरेको हो । गोल्डकपमा नेपाल र भारतका गरि आठवटा टिमले सहभागिता जनाएका थिए ।



