काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाउने घटनामा संलग्न नभएको स्पष्ट पारेको छ । शुक्रबार, रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै यो समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पार्टीका कार्यकर्ताहरू उक्त घटनामा संलग्न नभएको बताउँदै रास्वपाले भनेको छ कि कार्यक्रम स्थलमा केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकाएर दाङतर्फ आउँदै गर्दा सडकमा स्वागत गर्न आएका केही शुभेच्छुकहरूको उपस्थितिले उत्पन्न भएको भीडमा केही अवाञ्छित व्यक्तिहरूले झण्डा जलाउने काम गरेको बताएको छ ।



रास्वपाले यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको गर्न माग गर्दै, “सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्न सम्बन्धित सुरक्षा निकायसँग जोडदार अनुरोध गर्दछौँ,” भनेको छ । सभापति घिमिरेले पार्टी विधिको शासन, शान्तिपूर्ण राजनीति र अहिंसाको मार्गमा अडिग रहेको बताएका छन् ।



