काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन दोस्रो दिन पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा विहान ८ बजेदेखि सुरुभएको विधान महाधिवेशनमा बाँकी प्रतिवेदन माथी प्रस्तुतीकरण हुँदैछ ।
केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।



महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल २ हजार ३ सय ४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।



