काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणमा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना आलोचकविरुद्ध निर्मम देखिनुभएको छ । यो निर्ममता चुनाव जित्ने र हार्नेसँग भन्दा पनि आफूलाई जयजयकार गर्ने र नगर्नेबीच बढी झल्किएको छ । केही वर्षयता पार्टीमा प्रतिपक्षी भूमिकामा रहेका र गएको ११औँ महाधिवेशनमा इतर प्यानलबाट नेतृत्वका लागि प्रतिस्पर्धा गरेका नेताहरुलाई ओलीले मुख्य टार्गेट नै बनाउनुभएको छ । को को पेलिए ओलीबाट ?



एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि अघिल्लो निर्वाचनको जस्तै आफ्नो विरोधीहरुलाई टिकट नदिने वा अलमल्याउने रणनीति लिनुभएको छ । पार्टीमा र मतदातामा समेत राम्रो छाप बनाएका नेतासमेत टिकटबाट बञ्चित भएका छन् । कतिपय जिल्लाबाट आन्तरिक प्रतिस्पर्धामा राम्रो समर्थन प्राप्त गरेर केन्द्रमा नाम पठाइएका नेताहरु पनि बञ्चित भएका छन् भने सबैभन्दा कम मत पाएकाले टिकट पाएका छन् ।गत मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित प्रतिस्पर्धा गर्नुभएको थियो । हिजो बसेको सचिवालय बैठकमा ओलीले पोखरेल प्यानलका अधिकांशलाई पाखा लगादिदिनुभयो भने उपमहासचिव योगेश भट्टराई लगायतक केही चर्चित नाम होल्ड गरेर राखिदिनुभएको छ ।
११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डेले टिकट पाउनुभएन । निरज आचार्य, यज्ञराज सुनुवारलगायतका नेताहरुको अवस्था पाण्डेकै जस्तो भयो । ११औँ महाधिवेशनमा इतर प्यानलबाट उपमहासचिव निर्वाचित योगेश भट्टराईको टिकट होल्ड गरेर राखिएको छ उहाँविरुद्ध अध्यक्ष ओलीले सचिवालय बैठकमै ुउनले जित्दैनन् भन्ने विश्लेषण सुनाउनुभएको थियो । भट्टराईले यसमा नोट अफ डिसेन्टुु दर्ता गराउनुभएको छ । ईश्वर पोखरेल समूहबाट पदाधिकारी वा केन्द्रीय सदस्यमा लडेका झपट रावल, पुरुषोत्तम पौडेल, कृष्ण राई, रचना खड्का लगायतका चर्चित अनुहारहरूले टिकट पाउन सकेनन् ।
यस्तै ठाकुर गैरको टिकट पन खोसिएको छ । पाल्पा क्षेत्र नम्बर २ बाट अघिल्लो निर्वाचनमा विजयी भएका गैरेको ठाउँमा यसपट ओलीले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाउनुभएको छ ।
आन्तरिक प्रतिस्पर्धामा नम्बर एक, ओलीबाट अस्वीकार
तल्लो कमिटीबाट सर्वसम्मत वा सबैभन्दा धेरै मत पाएर सिफारिस भएका कतिपय नेताहरूलाई पनि ओलीले टिकट दिनुभएन । दैलेख क्षेत्र नम्बर २ बाट आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा धेरै मत ल्याएका विष्णु रिजालले टिकट पाउनुभएन । बरु कम मत पाएका र यसअघि पनि सांसद भइसकेका, गएको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित लक्ष्मी पोखरेलले टिकट पाउनुभयो । स्थानीय एमाले प्रतिनिधिको रोजाइमा परेर पनि केन्द्रले टिकट नदिएपछि विष्णु रिजालले सामाजिक सञ्जालमार्फत् चर्को रोष प्रकट गर्नुभएको छ ।
यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका अशोककुमार चन्दलाई पनि ओलीले टिकट दिनुभएन । आन्तरिक प्रतिस्पर्धामा चन्दले ६१ मत पाउनुभएको थियो । जबकी ५० मत पाएका वचनबहादुर सिंहले टिकट पाउनुभयो । सुर्खेत, इलामलगायत थुप्रै जिल्लामा यस्तो विवाद देखिएको छ । स्थानीयस्तरबाट सिफारिस भएका र जनाधार राम्रो भएको दाबी गरिएका नेताहरुलाई पन्छाएर ओलीले विगतदेखि नै आफ्नो गुटमा सक्रिय भएका नेताहरुलाई टिकट बाँड्नुभएको छ । टिकट वितरणमा ओलीले महासचिव शंखर पोखरेलले पूर्वउपमहासचिव विष्णु रिमालको मात्रै कुरा सुनेको नेताहरुको आरोप छ । यसबारे उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रुपमै असन्तुष्टी पोखर्नुभएको छ । जसका कारण टिकट पाउनेमा पोखरेल र रिमाल निकट नेताहरुको वर्चस्व देखिएको छ । तर एमाले संस्थापन पक्षका नेताहरु यो स्वीकार गर्न तयार छैनन् ।
यसअघि समानुपातिक सूचीमा पनि पार्टीमा चर्को असन्तुष्टि देखिएको थियो । रामबहादुर थापा बादललाई एमालेले १ नम्बरमा सिफारिस गरेर समानुपातिक बन्द सूचि पठाएको छ । पार्टीमा लामो समयसम्म योगदान गरेका र खास अवसर नपाएका नेताहरुलाई भने यस्तो सूचीमा नराखिएको र सूचीमै राखिए पनि निर्वाचित हुने अवस्था नरहेको भन्दै असन्तुष्टि बढेको छ । यही कारण समानुपातिकका कतिपय उम्मेदवारले आफ्नो नाम नै फिर्ता लिएका छन् ।



