काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि सर्वोच्च अदालतको परमादेशसँगै उनी रिहा भएका हुन् ।



रिहाइपछि सामाजिक सञ्जालमार्फत ओलीले सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको बताएका छन् । उनले न्यायको पक्षमा आवाज उठाउने कानुन व्यवसायी, राजनीतिक दल, सञ्चारकर्मी र सर्वोच्च अदालतप्रति उच्च सम्मान समेत व्यक्त गरेका छन् ।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन त्रिवि शिक्षण अस्पतालमै रहेर उपचार गराउने जानकारी दिँदै उनले आफ्नो रिहाइको माग गर्दा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने माग राखे । राज्य उदासीन भए घाइतेहरूको उपचार खर्च पार्टीले बेहोर्ने समेत ओलीले स्पष्ट पारेका छन् ।
ओलीलाई भदौ २३ २४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले चैत्र १४ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तेस्रो पटक म्याद थपेको थियो । म्याद सकिएसँगै प्रहरीले उनलाई बिहीबार हिरासत मुक्त गरेको हो ।
ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले चैत्र २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा भए हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएको हो ।



