काठमाडौं – देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताले सास्ती भोग्न थालेका छन्। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि ग्यास डिपो तथा सप्लायर्समा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्न थालेको छ। कतिपय उपभोक्ताले एउटा सिलिन्डर ग्यास पाउन एक सातासम्म कुर्नुपरेको गुनासो गरेका छन्।
नेपाल आयल निगमले फागुनको अन्तिमदेखि ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर वितरण गर्दै आएको थियो। तर असारको अन्तिमदेखि पुनः पूरा सिलिन्डर वितरण सुरु गरेपछि उपभोक्ताको माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन्। बढ्दो मागका कारण साउनको पहिलो सातादेखि बजारमा ग्यासको आपूर्ति प्रभावित भएको उनीहरूको भनाइ छ।



यद्यपि बजारमा उपभोक्ताले ग्यास नपाएर सास्ती भोगिरहेका बेला नेपाल आयल निगमले भने एलपीजी ग्यासको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। निगमका अनुसार ग्यासको अभाव नभई वितरण व्यवस्थापनका कारण केही स्थानमा समस्या देखिएको हो।
यसैबीच काठमाडौंको बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिएको छ। बजारमा मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले दैनिक उपभोगका लागि आवश्यक ग्यास प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।



