काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्युचर स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ ।



नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १४७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो । ब्राइट फ्युचरबाट यस वर्ष एसइई परीक्षामा विद्यालयका ६ जना विद्यार्थीले उत्कृष्ट फोर जीपीए प्राप्त गरी उल्लेखनीय सफलता हासिल गरेका छन् । उनीहरूलाई विद्यालयले ताम्रपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसी घिमिरेले सफलता प्राप्त गर्नका लागि निरन्तर मेहनत, अनुशासन र दृढ संकल्प आवश्यक हुने बताए । उनले विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई परिवार, विद्यालय र समाजको पनि गौरवको विषय भएको उल्लेख गरे । उनले भविष्यमा अझ उच्च शिक्षा हासिल गर्दै देश र समाजका लागि योगदान पु¥याउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल दयाराम थापाले विद्यालयले हरेक वर्ष शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै यस वर्षको नतिजाले विद्यालयको शैक्षिक स्तर पुष्टि गरेको उल्लेख गर्नुभयो । उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उनीहरूका अभिभावक तथा मेहनत गर्ने शिक्षकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका अध्यक्ष मोहन कार्कीले विद्यार्थीहरूको सफलता विद्यालय परिवारका लागि गर्वको विषय भएको बताउँदै विद्यार्थीहरूले आफ्नो मेहनत, लगनशीलता र अनुशासनका कारण विद्यालयको नाम उच्च राख्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले आगामी अध्ययन यात्राका लागि शुभकामना समेत दिनुभयो । साथै विद्यालयले भविष्यमा पनि विद्यार्थीको प्रतिभा विकास र गुणस्तरीय शिक्षामा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यालयले विद्यार्थीहरूको हौसला बढाउन आयोजना गरेको सम्मान कार्यक्रम प्रशंसनीय रहेको बताएका छन् ।



