काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यका साथ यस वर्षको एसईई परीक्षालाई लक्षित गर्दै विशेष शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । नगर क्षेत्रभित्र रहेका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित विभिन्न तयारीमूलक गतिविधि अघि बढाइएको हो ।

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट यस वर्ष ८१६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । उनीहरूको नतिजा सुधार्न विद्यालयबीच सहकार्य गर्दै फरक–फरक विद्यालयका अनुभवी शिक्षकलाई अन्य विद्यालयमा पठाएर अध्ययन गराउने र विद्यार्थीलाई प्रेरणा दिने कार्यक्रम सञ्चालन गरिएको छ ।

यस वर्ष प्रत्येक विद्यालयबाट ३–३ जना विद्यार्थी छनोट गरेर उनीहरूका लागि नगरपालिकाले छुट्टै अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था मिलाएको छ । कक्षामा सहभागी विद्यार्थीका लागि यातायात तथा खाजा खर्चस्वरूप प्रतिविद्यार्थी २०० रुपैयाँ तथा अध्यापन गर्ने शिक्षकलाई १६०० रुपैयाँ भत्ता व्यवस्था गरिएको छ ।

शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टका अनुसार प्रत्येक शनिबार सतुंगलस्थित विष्णुदेवी मावि र थानकोटस्थित मंगोलदय माविमा फरक–फरक विद्यालयका मावि तहका स्थायी शिक्षकहरूले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विशेष कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

साथै नगरपालिकाले प्रत्येक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्न मासिक २९ हजार ४ सय रुपैयाँ उपलब्ध गराउँदै आएको शाखा अधिकृत भट्टले जानकारी दिनुभयो ।
गत वर्ष पनि नगरपालिकाले कपी परीक्षण तथा शैक्षिक समन्वयको जिम्मा लिएर मंगोलदय मावि, प्रभात मावि, विष्णुदेवी मावि र विद्यामन्दिर विद्यालयमा परीक्षा केन्द्र बनाएर आन्तरिक परीक्षा सञ्चालन गरेको थियो ।

नगरपालिकाको शिक्षा शाखाको यस सक्रिय पहलले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्ने अपेक्षा गरिएको छ । शैक्षिक सुधारका लागि स्थानीय सरकारले गरेको लगानी र प्रतिबद्धताले आगामी एसईई नतिजा राम्रो आउने विश्वास गरिएको छ । यसले सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय