राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ। नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यअनुसार यो नयाँ व्यवस्था लागू गर्न लागिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार छिटो नतिजा प्रकाशन गर्न यस्तो कदम चालिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अधिकांश स्थानमा परीक्षा भएकै केन्द्रबाट परीक्षण गरिनेछ। तर, जहाँ शिक्षक अभाव वा सुरक्षाको समस्या हुन्छ, त्यस्ता केन्द्रको परीक्षण अन्यत्र सार्न सकिने व्यवस्था गरिएको छ।

अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका गोप्य रूपमा तोकिएका केन्द्रमा पठाएर परीक्षण गरिन्थ्यो, कतिपय अवस्थामा एक प्रदेशको कापी अर्को प्रदेशमा लगिन्थ्यो। नयाँ व्यवस्थाले प्रक्रिया सरल र छिटो हुने अपेक्षा गरिएको छ। यसअघि एसईईको नतिजा असारको दोस्रो सातातिर सार्वजनिक हुने गरेकोमा ढिलाइको गुनासो आउने गर्थ्यो। ढिलो नतिजाले विद्यार्थीमा मानसिक दबाब बढाउनुका साथै ब्रीज कोर्सजस्ता कार्यक्रममार्फत अनावश्यक तनाव सिर्जना हुने गरेको बताइएको छ। यसलाई ध्यानमा राख्दै मन्त्रालयले ब्रीज कोर्स सञ्चालनमा रोक लगाइसकेको छ।

यसैबीच, एसईई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ। प्रारम्भिक तालिकाअनुसार परीक्षा चैतको पहिलो सातामै हुने भनिए पनि प्रतिनिधिसभा चुनावका कारण पछि सारिएको हो। बोर्डका अनुसार परीक्षा सञ्चालनका सबै तयारी पूरा भइसकेको छ। देशभर १,९६६ परीक्षा केन्द्र तोकिएका छन्, जसमा एक केन्द्र जापानमा पनि रहेको छ। यस वर्ष करिब ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै सरोकारवालालाई सहयोग गर्न बोर्डले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय