काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडबृद्धि परीक्षा आजदेखि सुरु हुँदैछ । यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडबृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।
पहिलो दिन अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ । परीक्षामा दुई लाख १० हजार परीक्षार्थी सहभागी हुने परीक्षा बोर्डले जनाएको छ । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।



नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको संख्या २ लाख ४२ हजार भएपनि २ लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ । यसका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ ।



