काठमाडौं- २०औँ एसियन गेम्समा कांस्यपदक जित्ने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार रकम पाएका छन्। सरकारले खेलकुद विकास नियमावलीअनुसार करातेका तेञ्जिङ शेर्पा र नेपाली महिला कबड्डी टोलीसहित सम्बन्धित प्रशिक्षक तथा व्यवस्थापकको बैंक खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो। यसअघि असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो।
पुरस्कारअनुसार करातेका कांस्यपदक विजेता तेञ्जिङ शेर्पाले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाएका छन्। त्यस्तै, कांस्यपदक विजेता महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले जनही एक लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन्। टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार रुपैयाँ पाउँदा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार रुपैयाँ पाएका छन्।



जापानको नायोगामा आयोजित २०औँ एसियन गेम्समा नेपालका तर्फबाट करातेका तेञ्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्यपदक जितेका थिए। उनीहरूको सफलतासँगै नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप मजबुत बनेको थियो। सरकारले पदक विजेता खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापकलाई समेत पुरस्कार प्रदान गरेको हो।



