काठमाडौं । आठ महिनापछि दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुनर्निर्माणको काम सकिएसँगै आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज हस्तान्तरण गर्न लागिएको हो । आज १ बजे हुने हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश मन्त्री र जनप्रतिनिधिको उपस्थिति हुनेछ ।
हस्तान्तरणपछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्ने जनाएको छ । सुरुङ संचालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।



तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर छ । एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर डिल्लीजंग थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गर्नुभएको थियो ।
७ सय मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्ने बेलामा यो सुरुङ निर्माण गरिएको थियो ।



