काठमाडौं । एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । खेलाडीहरुलाई बिदाई गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा मनोबल कमजोर नहुनेगरी आफूहरुले काम गर्ने बताउनु भयो । उहाँले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ । बिदाई कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताए । उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताउँदै कुनैपनि खेललाई सहज तरिकाबाट नलिन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

नेपाली टिममा विनोद भण्डारी, आसिफ सेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय