काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ ।

मलेसियाको बाँगीमा नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो । जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन् । पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो ।नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ ।

 

क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय