काठमाडौं । आगामी चुनावको आकलनका लागि विगतको परिणाम एउटा आधार मात्रै हो । किनकि हरेक चुनाव नयाँ भएर आउँछ ।

अझ बाहिरै देखिने गरि लहर चलेका चुनावको आकलन गर्न झन कठिन हुन्छ । झापामै २०६४ सालको पहिलो संविधानसभा चुनावमा एमाले अध्यक्ष ओली तत्कालीन माओवादीका युवा उम्मेदवार विश्वदिप लिङ्देनसँग पराजित हुनु भएको थियो । त्यसबेला देशभर नै माओवादीका पक्षमा लहर चलेको थियो । यसपटक पनि नयाँका पक्षमा आकर्षण देखिन्छ । अझ बालेनको क्रेज त झन उत्कर्षमा छ । केही दिन अघि बालेन भिड्न आउन लागेको चर्चाबारे संचारकर्मीले सोधेको प्रश्नलाई एमाले अध्यक्ष ओलीले हाँसेर उडाउनु भएको थियो । यसको अर्थ उहाँ चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । तर, अध्यक्ष ओलीलाई यो चुनाव सोचेजस्तो सहज नहुन सक्छ । अध्यक्ष ओलीलाई हराउन नेकपाले पनि बालेनलाई समर्थन गर्ने सम्भावना धेरै छ ।

राप्रपाको स्थानीय नेतृत्व पनि यसपटक ओलीसँग बिच्किएको छ । विगतकै समानुपातिक परिणाम हेर्दा पनि रास्वपा र नेकपाको मत जोड्दा करिब २७ हजार पुग्छ । त्यसमा राप्रपाको पनि थपिँदा ओलीलाई झन अप्ठेरो हुन सक्छ । यसपटक यो क्षेत्रमा करिब १५ हजार मत थपिएका छन् । तीमध्ये धेरै बालेनतिर जाने सम्भावना छ । यसरी विगतकै आधारमा हेर्दा पनि यो क्षेत्रमा अध्यक्ष ओलीलाई सहज हुने छैन । रास्वपाको पक्षमा लहर चल्यो भने परिणाम एमालेले सोचेजस्तो पक्कै हुने छैन । त्यस्तो अवस्थामा आफ्नो किल्ला बचाउन ओलीले ठूलै मेहनत गर्नु पर्नेछ ।

यता बालेनलाई पनि झापामा काठमाडौं जस्तो सहज हुने छैन । एमालेको मजबुत संगठन तोडेर जित हासिल गर्नु उहाँका लागि पनि फलामको च्युरा जस्तो हुनेछ । यो भिडन्त केवल दुई व्यक्तिको प्रतिस्पर्धा मात्र होइन, यो पुरानो विरासत र नयाँ आकांक्षाबीचको महासङ्ग्रामका रूपमा पनि बदलिन सक्छ । त्यस्तो भयो भने बालेनले ओलीको गढमा घण्टी बजाएर नयाँ इतिहास लेख्न सक्नु हुनेछ । तर, झापा पाँचका नागरिक मत बदल्न तयार भएनन् भने ओलीको लालकिल्ला झन् मजबुत हुनेछ र बालेनको प्रधानमन्त्री बन्ने सपना पनि तुहिनेछ । उम्मेदवारी मनोनयन गरेपछि धेरै विषय प्रष्ट हुँदै जानेछन् । अहिलेसम्मको अवस्थामा भने झापा पाँचको प्रतिस्पर्धा कडा र रोचक हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय