काठमाडौं — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा व्यापक दबाब अभियान सुरु भएको छ। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका निर्णय र गतिविधिमा हस्तक्षेप भएको आरोप लगाउँदै ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले अभियान सुरु गरेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत “ARREST KP SHARMA OLI. RAMESH LEKHAK MURDERERS” लेखिएको पोस्ट राख्दै दुवै नेताविरुद्ध कारबाही गर्न आग्रह गरेका थिए।
गुरुङको पोस्ट सार्वजनिक भएसँगै यो अभियान सामाजिक सञ्जालमा छिट्टै भाइरल भएको छ। धेरै प्रयोगकर्ताले उक्त पोस्टलाई शेयर, कमेन्ट र समर्थन जनाउँदै आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडमा तत्कालीन सरकारले जिम्मेवारी लिनुपर्ने भन्दै माग गरेका छन्। उनीहरुको भनाइमा, आन्दोलनका क्रममा भएका जनहानि र क्षतिको प्रत्यक्ष जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले लिनुपर्छ। तर, नेकपा एमालेका नेताहरुले भने यो अभियानलाई ‘राजनीतिक बदनाम अभियान’ को संज्ञा दिएका छन्। उनीहरुको तर्कमा, आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउने, सरकारी संरचना तोडफोड गर्ने र हिंसा मच्चाउने समूहलाई समर्थन गर्दै तत्कालीन नेतृत्वलाई दोषारोपण गर्नु पूर्वाग्रही कदम हो।



राजनीतिक विश्लेषकहरुले सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियान आगामी दिनमा अझै चर्किन सक्ने भन्दै यसले राजनीतिक ध्रुवीकरणलाई थप गहिरो बनाउने आकलन गरेका छन्। यसबीचमा, प्रहरी प्रशासनले भने यसबारे आधिकारिक टिप्पणी गर्न अझै बाँकी रहेको जनाएको छ।



