काठमाडौं । कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा संक्रमितको संख्या १ हजार ५ सय २८ पुगेको छ भने मृतकको संख्या ४सय ९२ पुगेको छ ।

कंगोका जनस्वास्थ्य अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २ सय ३९ जना संक्रमित निको भएका छन् । यस्तै ६ सय २८ संक्रमित आइसोलेसन केन्द्र र अस्पतालमा उपचाररत छन् । यसका साथै १ सय ५ जना शंकास्पद बिरामीको पनि पहिचान गरिएको जनाइएको छ । प्रतिवेदनमा पछिल्ला सातामा नयाँ संक्रमितको संख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ ।

महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदाय स्तरमा संक्रमण अझै सक्रियरूपमा फैलिरहेको संकेत गरेको अधिकारीले बताएका छन् । प्रतिवेदनमा मृत्युपश्चात नमूना संकलनमा समुदायको असहयोग तथा विशेष गरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि संक्रमण नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । साथै, औषधि तथा संक्रमण नियन्त्रण सम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता मूल्यांकन गर्न कंगोमा क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ । उक्त भाइरसका कारण हुने इबोलाका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय