राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्नका लागि आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तय भएको छ। परीक्षा बोर्डका अनुसार नतिजा सार्वजनिक गर्नुअघि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आइतबार डेमो ९परीक्षणको रूपमा नतिजा परीक्षण० गरिएको थियो, जसपछि आजको बैठकमा नतिजालाई अनुमोदन गरी सार्वजनिक गरिने छ।

परीक्षा बोर्डका प्रवक्ताले जानकारी दिएअनुसार, शैक्षिक क्यालेन्डरअनुसार साउन १५ भित्रै नतिजा प्रकाशित गरिनुपर्ने हो। तर, गत २० चैतदेखि २९ दिनसम्म देशव्यापी रूपमा शिक्षक आन्दोलन चलेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो। शिक्षकहरूको आन्दोलनकै कारण परीक्षा पनि प्रभावित भएको थियो। सुरुमा परीक्षा ११ वैशाखमा हुने तय भए पनि आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरु गरिएको थियो।

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। बोर्डले आजको बैठकपछि साँझभित्र नतिजा सार्वजनिक गर्ने प्रष्ट संकेत दिएको छ। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले परीक्षा बोर्डको वेबसाइट तथा एसएमएस र मोबाइल एपमार्फत नतिजा हेर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय